सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन् ।

मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी गरेका हुन् ।

ओलीले विदेश भ्रमण गर्दा परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका प्रजातन्त्रमा हुँदै नहुने गतिविधिमा सरकार संलग्न भएको आरोप लगाए ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको गुनासो गरे ।

सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको उनको भनाइ थियो । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने अध्यक्ष ओलीले बताए ।