काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मानवमा भएको तनाव, रिस नियन्त्रण गरी मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योगले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शसस्त्र प्रहरीले हल्चोकमा आयोजना गरेको कार्यक्रममा उनले हरेक दिन योग गर्ने या योगलाई स्मरण गर्दा मात्रै पनि तनाव कम हुने बताएका हुन् ।
गृहमन्त्री खाँणले योगले जीवन शान्त, फलदायी र उत्पादनमूलक बनाउने पनि बताए ।
कार्यक्रममा सहभागी अन्यले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए ।
गृहमन्त्री खाँणकै उपस्थितिमा हल्चोकमा योगाभ्यास कार्यक्रम समेत गरिएको थियो ।