एजेन्सी : युरोपमा तापक्रम अत्यधिक बढेपछि जनजीवन निकै प्रभावित भएको छ । फ्रान्सको तापक्रम ७५ वर्षयताकै उच्च मापन गरिएको छ । दक्षिण–पश्चिम फ्रान्सका ११ क्षेत्रलाई जोखिमको उच्च क्षेत्रमा राखिएको छ ।
तापमान ४२ डिग्री सेल्सियससम्म पुगेपछि फ्रान्सको मौसम पूर्वानुमान विभागले ती क्षेत्रलाई खतराको रातो सूचीमा राखेको हो । राजधानी पेरिसदेखि जर्मनीको सीमा क्षेत्रसम्म र साथै ब्रिटेनदेखि लियोनका साथै अन्य ५८ क्षेत्रलाई उच्च सतर्कताको सूचीमा राखिएको छ । फ्रान्सका ११ वटा जोखिम क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने बालबालिकालाई सुरक्षित राख्न आह्वान गरिएको छ ।
गर्मीका कारण पशुपालन तथा मासु व्यवसाय प्रभावित भएको छ । फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा बढी गर्मी रेकर्ड भएपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।
गर्मी बढेसँगै स्पेनमा आगलागीका घटनामा वृद्धि भएको छ भने इटाल र जर्मनी खडेरीको चपेटामा परेका छन । गर्मीको लहरका कारण केही दिनयता युरोपको दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ ।
बर्लिनलगायत दर्जनौं सहरमा तापक्रम ३७ डिग्रीबाट उकालो लागेको छ । स्पेनमा करिब एक सातायता बढेको गर्मीको लहरसँगै विभिन्न स्थानमा डढेलो फैलिएको छ ।
आइतबारसम्म करिब २० हजार हेक्टर वनक्षेत्र नष्ट भएको बताइएको छ । स्पेनको राजधानी मड्रिड र उत्तर पश्चिमा ग्यालिसियाबीचको उच्च–गतिको रेल लाइन बन्द गरिएको छ ।
युरोपका केही क्षेत्रमा आगामी केही दिन गर्मी निकै बढ्ने र त्यसले बालीनालीको उत्पादन १० देखि ३० प्रतिशतसम्म नोक्सान हुने उल्लेख छ ।