स्थानीय निर्वाचन : देशभर मतदान जारी

काठमाडौं : शुक्रबार बिहान सात बजेदेखि शुरु भएको स्थानीय तह निर्वाचनको मतदान नेपालभर जारी छ । संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।

०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ ।

देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।