यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा द्विपक्षीय बैठक हुने भएको छ । 

नेपाल र भारत दुबै देशका विदेश मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण औपचारिक हुने र त्यसक्रममा द्विपक्षीय बैठक बस्ने जानकारी दिएका हुन् । 

मोदी प्रधानमन्त्री देउवाको निमन्त्रणमा २ जेठमा बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका हुन् । सन् २०१४ यता मोदीको यो पाँचौं नेपाल भ्रमण हो । 

भारतीय विदेश मन्त्रालयका अनुसार लुम्बिनीमा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजा गर्नेछन् । त्यसपछि लुम्बिनी विकासले आयोजना गरेको कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । 

मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नयाँदिल्लीको प्लटमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणका लागि आयोजना हुने शिलान्यास समारोहमा पनि सहभागिता जनाउने बताइएको छ । 

प्रधानमन्त्री मोदीको भ्रमणले हाम्रो छिमेकी पहिलो नीतिलाई अगाडि बढाउनुका साथै भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने भारतले जनाएको छ ।