स्थानीय निर्वाचन : बदर होला है मत, यसरी गर्नुहोस् मतदान

काठमाडौं : मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । 

सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ । मतपत्रको सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिह्न राखिएको छ । त्यसमुनि सम्बन्धित जिल्लामा सक्रिय पार्टीका चिह्न छन् भने राजनीतिक दलको चिह्नपछि स्वतन्त्र उम्मेदवारको चिह्न राखिएको छ । 

३६ जिल्लाको मतपत्रमा एक खण्ड मात्र छ भने बाँकी जिल्लाको मतपत्रमा दुई खण्ड छ । पहिलो ठाडो लहरमध्ये एउटामा अध्यक्ष/प्रमुखका लागि चिह्न राखिएको छ । 

अध्यक्ष/प्रमुखको चिह्न भएको माथि मतपत्र १ लेखिएको हुन्छ । मतपत्र १ को ठाडो लहरका चिह्नमध्ये एउटामा मात्रै छाप लगाउनुपर्ने हुन्छ । 

मतदाताले एक–एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । 

दोस्रो ठाडो लहरको मतपत्र २ मा उपाध्यक्ष÷उपप्रमुखका उम्मेदवारको चिह्न हुनेछ । त्यसअन्तर्गत पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्ने हुन्छ । मतपत्र ३ मा वडाध्यक्षको चिह्न छ । यो लहरमा पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्छ । 

मतपत्र ४ मा महिला वडा सदस्य र मतपत्र ५ मा दलित महिला सदस्यको चिह्न हुन्छ । मतपत्र ४ र ५ मा पनि एक–एक चिह्नमा मात्रै छाप लगाउने हो । मतपत्र ६ मा दुई जना खुला वडा सदस्य छान्नका लागि हो । यसमा पहिलो सदस्यका लागि एउटा चिह्न र दोस्रोका लागि दुई वटा चिह्न दिइएको हुन्छ । एउटा कोठामा एउटा मात्रै छाप लगाउनु पर्ने छ । 

एउटा दलको पहिलो सदस्य र अर्को दलको पनि पहिलो सदस्य मन पर्‍यो भने तल–माथि छाप लगाउन सकिन्छ । एउटा दलको दोस्रो सदस्य र अर्को दलको दुई वटा चिह्न भएको दोस्रो सदस्यमा पनि छाप लगाउन सकिन्छ । तेर्सोमा एउटा–एउटा छाप लगाए पनि हुन्छ । मतपत्रको आकार, रङ पहिलाको जस्तै भएकाले अलमल हुने अवस्था नभएको निर्बाचन आयोगले जनाएको छ । 

मतदानस्थलमा होहल्ला नगर्ने, कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज लगाउन नहुने आयोगले समेत ओयोगले बताएको छ । 

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक जान पाउने छन । 

महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको परिवारको सदस्य मात्रै जान पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री लैजान बन्देज गरिएको छ ।