नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताबीच अन्तरसम्बन्ध

डायस्पोरा समुदाय भन्नाले कस्तो समुदाय हो ?

सर्वप्रथम डायस्पोरा भन्नाले मानिसहरूको त्यस्तो समूह हो जो आफ्नो मूल देशमा बस्दैन। तर त्यो समूहले आफ्नो जन्मभूमिसँग पूर्णरुपले नाता तोडेको हुँदैन। उसले आफ्नै देशको भाषा, ऐतिहासिक सभ्यता,पहिचान र सांस्कृतिक सम्पदालाई बसोबास गरेको भूमिमा समेत अपनाई रहेको हुन्छ। डायस्पोरा भन्ने शब्द पहिलो पटक बाइबलीय समयमा यहूदीहरूको फैलावटलाई वर्णन गर्न प्रयोग गरिएको थियो।

पछिल्लो चरणमा डायस्पोरालाई समवेदना र कारणको आधारलाई हेरेर दुई भागमा विभाजन गरिएको पाइन्छ। जस्तै युद्ध वा गृहयुद्ध, अपमान वा आक्रमणको भय र राजनैतिक कारणबाट देश छोड्न बाध्य पारिएका पीडित डायस्पोराहरूमा यहुदी, अफ्रिकी, अर्मेनियाली, सिरियाली,यु क्रेनी,श्री लंकन र गृहयुद्धको समयमा देश छोडेका भारतीय, भुटानी र नेपाली पनि पर्दछन्।

संसारमा आर्थिक उपार्जन र सुबिधाको खोजीमा देशबाट पलायन भएको श्रम डायस्पोराहरूको अर्को तप्का पनि छ। काम र आर्थिक अवसरहरूको खोजीमा युरोप, अमेरिका,क्यानाडा र अष्ट्रेलिया लगायतका देशमा पलायन भएका भारतीय, पाकिस्तानी, बंगाली, नेपाली, चिनीया र टर्की डायस्पोराहरू श्रम डायस्पोरा अन्तर्गत पर्दछन्।

जब मानिसले कुनै पनि बाध्यताले आफ्नो थातथलो छोड्छ, उसले आफुसंग आफ्नो श्रम, सिपसँगै पहिचान पनि लिएर हिँडेको हुन्छ। पहिचानको रक्षाको लागि प्रवासमा उसले आफ्नो समुदायको खोजी गर्छ र संगठित रुपमा त्यो समुदायले आफ्नो पहिचानको अस्तित्व रक्षाको प्रयत्न गर्दछ। यी सबै कर्म गर्ने उत्प्रेरणाको मुख्य कारक आफ्नो मौलिक पहिचानको रक्षा नै हो।

डायस्पोरामा नेपाली संचारकर्म

देश छोडेर प्रवास पलायन हुने क्रममा अरु बौद्धिक र श्रमिक जस्तै पत्रकारहरुपनि रहेका छन्। उनीहरुले प्रवासमा आफ्नो समुदायको सूचना, गतिबिधि र अवस्थितिलाई मूल थलोसंग सम्पर्क गराउने कार्यभारको साथै आफ्नो पहिचानलाई आफु बसेका देशका नागरिकहरुबीच परिचय गराउने काम पनि गरिरहेका हुन्छन्। जसरी दोभाषेले दुई भाषा बोल्ने नागरिकहरुबीच अन्तरक्रिया गराउने काम गर्छ त्यस्तै डायस्पोराका सूचनाकर्मिहरुले मूलभूत रुपमा दुई देशका सूचनाहरुको आदान प्रदान मार्फत कालान्तरमा दुई फरक सांस्कृतिक सभ्यताहरुलाई जोड्न सहयोग गरिरहेका हुन्छन्।

त्यो नेपालमा महाभूकम्प गएपछि बेल्जियम लगायत युरोपमा प्रमाणित भयो। त्यहाँको समवेदनाको असर बेल्जियम लगायत संसारभरिका जनताले पत्रकारहरुकै कारण महसुस गरे। संसारभरि सहयोग अभियान चल्यो र त्यसले नेपालको दुखेको घाउमा राहत र ऐकबद्धताको आधार प्रदान गर्यो। त्यसैले पत्रकारिता र बिशेषगरि प्रवासी समाजमा डायस्पोराको पत्रकारिताले महत्वपुर्ण भूमिका खेलिरहेको कुरालाई कसैले नकार्न सक्दैन।

केहि दसक अगाडी देखि डायस्पोरामा नेपाली संचारकर्मी क्रियाशील छन्। उनीहरुले प्रवासबाट आफ्नो रुचि र क्षमता अनुशार राजनैतिक, आर्थिक र सामाजिक साँस्कृतिक रूपमा डायस्पोरा दर्शकहरूका लागि सान्दर्भिक सूचना, मनोरञ्जन र शिक्षासम्बन्धी समाचारहरु दिइरहेका हुन्छन् । एकातिर डायास्पोरिक संचारकर्मीहरुले सूचनाको सम्प्रेषणद्वारा प्रवास र मूल थलो जोडिरहेका छन् भने अर्कोतर्फ डायस्पोराको आफ्नो समुदायलाई कर्मभूमिका नागरिकसंग जोडीरहेका छन्। अहिलेसम्मका संचार गतिविधिलाई केलाएर हेर्दा डायस्पोरिक मिडियाले मुख्यत: दुईवटा फराकिलो भूमिका खेल्ने देखिन्छ : पहिलो, प्रवासी मिडियाले डायस्पोरिक समूहहरूलाई होस्ट देशमा समायोजन तर्फ मद्दत गर्न सूचना र सल्लाहसँग सम्बन्धित अभिमुखीकरणको भूमिका खेल्छ।  त्यस्तै दोश्रो, डायस्पोरामा आफ्नो समुदायका गतिबिधिको जानकारी दिनुको साथै मातृभूमिमा भएका घटनाहरूको बारेमा जानकारीहरुको लेनदेन गर्ने काम पनि प्रवासी मिडियाले गरेको देखिन्छ। जस्तै: हालै टर्कीमा पाकिस्तानीद्वारा चारजना नेपाली अपहरणमा परेको घटना होस् वा युक्रेनको युद्धबाट नेपालीहरु भागेर फ्रान्स वा पोर्तुगल पुगेको सूचना होस् प्रवासका मिडियाहरुले धेरै छिटो र विश्वासिलो तरिकाले समाचार सम्प्रेषण गरे। अझै डरलाग्दो कुरा मानव तस्करहरुद्वारा कोलम्बिया हुदै अमेरिकासम्मको कहालीलाग्दो नेपालीहरुको यात्राबारे डायस्पोराका नेपालीहरुले नै समाचार सम्प्रेषण गरे। त्यो पनि उनीहरु आफै त्यो यात्रामा सहभागी भएर गरिएको डरलाग्दो विवरण शरिर नै काँप्ने खालको थियो। यो सबै सूचनाको प्रसारणले अमेरिकाको सपना देख्ने हजारौं नेपाली त्यो रुट प्रयोग गरेर जान छोडेका छन्। यो सबै देन डायस्पोराका नेपाली पत्रकारहरुको नै हो।

डायस्पोराको पत्रकारितामा अर्को आधुनिक आयाम पनि जोडिएको छ। त्यसले नयाँ मिडिया टेक्नोलोजीको बिकास र प्राबिधिक ज्ञान थप्नुकासाथै रेडियो र टेलिभिजनमार्फत आफ्ना विचारहरू प्रसारित गर्न डायस्पोरा समूहहरूलाई अनगिन्ती प्लेटफर्महरू उपलब्ध गराएको छ। नेपाली डायस्पोराका पत्रकारहरुले प्रसारण र प्रकासित गरेको संचार सामाग्रीलाई अहिले नेपालका मुख्य मिडियाहरुले स्थान दिन थाल्नुको कारण सूचनाको विश्वसनियता नै हो। त्यसले के देखाउंछ भने मूलधारका नेपाली मिडियाहरुसँगै बिश्व प्रसिद्ध बिबिसी नेपाली सेवाले समेत डायस्पोरिक मिडियाको विकासलाई प्रोत्साहित गरिरहेको छ । यद्यपि, प्रवासी नेपालीहरूको व्यापार मोडेल अझै पनि मुख्य रूपमा स्वतन्त्र र सानो स्तरमा छ, र तिनीहरूको मुद्रित संस्करण प्रायः वैकल्पिक वितरण आउटलेटहरू अति सानो बाटोबाट गुज्रीरहेका छन् । ति सबैलाई समायोजन गरेर एउटा बिशाल नेपाली डायस्पोराको सामुहिक मिडियाकेन्द्र बनाउने सम्भावना रहे पनि त्यो खाले सोचको बिकास अझै हुन नसक्नु दुखद नै मान्नु पर्छ। अझै पनि हामीहरु मूलधारका नेपाली पत्रिका, टेलिभिजन र अनलाइनमै चित्त बुझाएर बसेका छौँ तर डायस्पोराको छुट्टै संयुक्त लगानीमा मिडिया कम्पनि बनाउनेतिर सोचिरहेका छैनौं।

बेल्जियममा नेपाली पत्रकारहरुको समुदायसंग अन्तर्सम्बन्ध :

बेल्जियममा बिशेषगरि सन् २००० देखिने नेपाली संचारकर्मिहरुले यहाँको नेपाली समुदायका अधिकतम गतिविधिहरु नेपालको मुलधारमा रहेका पत्रपत्रिकाहरुमार्फत प्रकासित गर्न थालेका हुन्। खासगरी बेल्जियममा विभिन्न अनलाईन मिडियाहरुमद्धे नमस्ते युरोपका सम्पादकले नेपाली पुर्खाहरुले सहादत गरेको स्थान खोजबिन गरि समूदायलाई जानकारी गराएपछि ईपरमा नेपाली समुदायको स्रद्धा बग्न थालेको देखिन्छ। त्यो सायद बेल्जियमको खोज पत्रकारिताको क्षेत्रमा कोशेढुंगा मान्नु पर्छ।

त्यस्तै युरोपमा नेपालीहरु संगठित हुने क्रम बढेसँगै समुदायका गतिबिधिबारे लेख्ने वा प्रसारण गर्ने कार्य नेपाली मिडियाकर्मीले नै गर्दै आइरहेको देखिन्छ। जव समाजमा सकारात्मक गतिविधिको साथै नकारात्मक गतिबिधि बढ्न थाल्छ त्यस्ता गतिबिधिबारे पत्रकारहरुले बेलाबेलामा समालोचना र खबरदारी समेत गरिरहेका छन्। जसको एउटा उदाहरण गेन्टको एसेण्ट्रा मेलामा भएको मानव तस्करीको भण्डाफोरलाई लिन सकिन्छ।

 २००६ बाट सम्पादक तेज नेपालीको नेतृत्वमा युरोपकै पहिलो प्रिन्ट मिडिया शुरु भयो। त्यसपछि पत्रकारिताले अझै ब्यबस्थित रुपमा अगाडी बढ्न थाल्यो। पछि बेल्जियमबाट प्रकासित चारदिशा लगायत केहि अनलाइनहरुले पनि सुचनाको क्षेत्रमा उल्लेख्य भूमिका खेलिरहेका छन् ।

समाजमा अन्तरक्रियात्मक प्रतिक्रियासहित अगाडी बढ्दै जाँदा सन् २०१२ मा नेपाल पत्रकार महासंघ युरोप साखाको गठन हुन पुग्यो । जसमा फ्रान्सका पत्रकार ददि सापकोटाको नेतृत्वदायी भूमिका रहेपनि बेल्जियमका पत्रकारको पनि उल्लेख्य सहभागिता रहेको थियो। त्यसपछि युरोपका केहि पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यता पनि प्राप्त गर्न सफल भएका छन्। गतबर्ष बेल्जियम शाखा बनेपछि हाल यो शाखाका सबै सदस्यहरुले महासंघको सदस्यता प्राप्त गरेका छन् भने बेल्जियमका पुराना पत्रकारहरुको सदस्यता नबिकरण भएर आइपुगेको छ। नयाँ सदस्यता प्राप्त गर्ने सबै मित्रहरुलाई बधाई दिंदै संयमित,सन्तुलित र लगनशिल भएर समाचार संकलन गर्नु हुन बिशेष अनुरोध गर्दछौं।

युरोप शाखाको कुरा गर्दा, पहिलो पुस्ताका नेपाली पत्रकारहरु नेपालकै सामाजिक मनोविज्ञानबाट ग्रसित रहेको गतिविधिले देखाएको छ । नेपाल पत्रकार महासंघका शाखा भित्र हुने नेतृत्वको होड राजनीतिका भात्री संगठनमा जस्तै देखिन्छ। तर सुचना सम्प्रेषण र समुदायको सेवालाई तुलनात्मक रुपले हेर्दा नेपाली मुलका प्रवासी पत्रकारहरुको योगदानलाई कम आँक्न सकिदैन।

उदाहरणको लागि पत्रकारहरुले यहाँ हुने प्रयटन प्रबर्धनबारे भएका दुतावास संलग्न कार्यक्रम,एनआरएनका सामाजिक गतिबिधि,खेल,साहित्य र अन्य सांस्कृतिक गतिबिधि,ब्याबशायी प्रबर्धनका गतिविधिहरु प्राय सबैको मिडियाले कभरेज गरेकै हुन्छ। अहिले युरोपका कुटनैतिक नियोगहरुपनि पत्रकारहरुसंग समन्वय नगरी समुदायका गतिविधिबारे जानकारी लिनै सक्दैनन्। त्यसैले नेपाली डायस्पोरा युरोप र बिशेषगरि बेल्जियमका पत्रकारहरु समुदायका भरपर्दा सुचना सम्बाहक बनिरहेका छन्। यो नै सबैभन्दा महत्वपुर्ण कुरा हो ।

प्रवासका पत्रकारहरुको आगामी कार्य दिशा के हुनु पर्ला ?

 पछिल्लो चरणमा बेल्जियमका पत्रकार ओम शर्माद्वारा सम्पादित चार दिशा अनलाइन पत्रिका,युरो नेपाल च्यानल,फ्रान्सबाट संचालित नेपाल प्लस  र मुलुकका मिडियालाई आधार मानेर प्रकासित अनेक पत्रपत्रिकाले डायास्पोरिक जर्नालिज्मलाई धेरै महत्व दिएका छन्। अब यी सबै पत्रपत्रिकाले नेपाली समुदायका सबै सांस्कृतिक, धार्मिक, आस्थागत, आर्थिक र सेवामुलक गतिबिधिका तत्वहरुको सन्तुलनमा न्युज पब्लिस गरेका छन् त ? बिशेष गरि बेल्जियमका सबै पत्रकारहरुले संयुक्त रुपमा कसरि सुचना संजालको उन्मादबाट समाज उपयोगी समाचार फिल्टर गर्न के गर्नु पर्ला भन्ने बहस चलाएका छन् त ? वा हाम्रा न्युजका प्लटहरुको तथ्यगत आधारहरु अझै कमजोर भएर बिश्वासनियतामा झोक्राउनु पर्ने अबस्थाको सृजना हुदै गैरहेको त छैन ? यदि छभने प्रवासका पत्रकारहरुको आगामी कार्यदिशा तिनै कमजोरी सुधार्नको लागि निदिष्ट गरिनु पर्छ।

समग्रमा भन्दा हाम्रो पत्रकारिता चाहे त्यो नेपालमा वा प्रवासमा होस् विशेषतः आधारभूत वर्गको लागि हो । सारत, पत्रकारिता दबिएका आवाजहरुको आवाज हो, भिन्न प्रकारको तर उत्कृष्ट समाज सेवा हो, स्वतन्त्रताको पहरेदार हो र पत्रकारिता निरंकुशता, विभेद र अन्यायविरुद्धको चुनौतीपूर्ण आवाज हो। भुइँमान्छेहरूको अधिकतम हिस्साले बोक्ने आस्था, विश्वास र उनीहरूभित्र रहेको राष्ट्रिय तन्तुहरूसमेत हाम्रा पत्रकारिताका हिस्सा हुन सक्नु पर्छ । उनीहरूको सुख, दुःख, आशा र भविष्यप्रतिको चिन्तासमेत हाम्रो कलमका हिस्सा हुनु पर्छ । बेल्जियम स्थित नेपाली डायस्पोरा त्यसैपनि अत्यान्त माइनोरिटीमा छ। त्यसैले यहाँका प्रमुख मिडियामा हाम्रो पहुँच सुन्य बराबर छ। अथवा हाम्रा आवाज,चाहना र गतिबिधिका सुचना दबिने अबस्थामा नै छन् भन्दा आत्युक्ति नहोला। हामी पत्रकारहरुले हाम्रो समुदायको केहि कुराहरु बाहिर ल्याउन,कमसेकम भबितब्यमा गुहार माग्ने स्तरबाट माथि उठाएका छौँ। अब यहाँको लोकल भ्यालुसंग जोडेर हाम्रो पत्रकारिता युरोपका स्थानियतहमा समेत पुर्याउनु पर्दछ। यो पनि अबको हाम्रो कार्यभार भित्र पर्दछ।

त्यसैले जहाँ जुन अबस्थामा छौँ,त्यसलाई सिंहावलोकन गर्दै पत्रकारहरुको परिप्रेक्षमा एकीकृत र समुदायको हकमा अन्तरक्रियात्मक रुपमा आफ्नो कलमलाई अझै तिखार्नुको बिकल्प हामीसंग छैन।

संचार जगतलाई प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ र संदेश :

युनेस्कोको महासभाको सिफारिसमा सन् १९९३ डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा गरेको थियो। त्यसबेलादेखि मे ३, विन्डहोक घोषणाको वार्षिकोत्सवलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ।

प्रेस स्वतन्त्रता दिवस घोषणाको ३० वर्षपछि पनि जनहितको सापेक्षतामा सूचना खोज्ने, प्रवाह गर्ने र प्राप्त गर्ने स्वतन्त्रताको महत्व घोषणाको निर्णयमा हस्ताक्षर गर्ने बेलाको जत्तिकै सान्दर्भिक छ ।

मे ३ ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको अनुस्मारकको रूपमा कार्य गर्दछ। यो प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूकोबारेमा मिडिया पेशेवरहरू बीच प्रतिबिम्बित गर्ने दिन पनि हो। यो प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्तहरू सम्मान गर्नको लागि; विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्नको लागि; मिडियालाई उनीहरूको स्वतन्त्रतामा हुने आक्रमणहरूबाट बचाउनको लागि; कर्तव्यको क्रममा ज्यान गुमाएका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नको लागि एउटा महत्वपूर्ण दिन हो।

परिचय : सन् १९९३ देखि वार्षिक रूपमा आयोजित, ग्लोबल सम्मेलनले पत्रकारहरू, नागरिक समाजका प्रतिनिधिहरू, राष्ट्रिय अधिकारीहरू, शिक्षाविद्हरू र व्यापक जनतालाई प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा उदीयमान चुनौतीहरू छलफल गर्न र समाधान पहिचान गर्नुको साथसाथै काम गर्ने अवसर प्रदान गर्दछ।

२-५  मे २०२२ मा युनेस्को र गणतन्त्र उरुग्वेले पुन्टा डेल एस्टे, उरुग्वेमा वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवस ग्लोबल सम्मेलन आयोजना गर्न लागेका छन् । ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ गर्न लागिएको सम्मेलनमा डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा ब्यापक छलफल हुने अनुमान गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई प्रेस स्वतन्त्रतामा अवरोध पुर्याउने मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता तथा गोपनीयतामा बढ्दो निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न आवश्यक ठोस समाधानहरू खोज्ने ठानिएको छ ।

२०२२ को विश्व प्रेस स्वतन्त्रता दिवसको विषयवस्तु, “डिजिटल घेराबन्दीमा पत्रकारिता”ले  पत्रकारहरूले सामना गरिरहेका धेरै नयाँ डिजिटल खतराहरूलाई निर्देशित गर्ने देखिन्छ, र संसारभरिका संचारकर्मी लगायत सबै सरोकारवालाहरूबाट आवश्यक प्रतिक्रियाको माग समेत गर्ने देखिन्छ।

अमेरिकाको नर्दन क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेका दुई-तीन ठूला सूचना कम्पनीले संसारका अधिकतम सम्पूर्ण सूचना प्रणालीमाथि नियन्त्रण जमाएका छन्। ठूला कम्पनी वा सरकारद्वारा गरिने केन्द्रिकृत डिजिटल नियन्त्रणका दुष्परिणाम सन् २०१९ मा भारतमा देखिएको थियो, जति वेला भारत सरकारले जम्मु-काश्मीरको विशेष हैसियत खारेज गरिदियो। त्यस वेला जम्मु-काश्मीरको सम्पूर्ण सञ्चार सम्बन्ध विच्छेद गरियो। जसले समुदायको सूचना पहुँचलाई निषेध गर्यो र समुदाय सूचनाबिहीनताको अवस्थामा फस्यो। यो केन्द्रिकृत सूचना नियन्त्रणले समुदायको स्वार्थ भन्दा सरकारको सत्ता स्वार्थलाई प्रतिनिधित्व गर्ने हुँदा यसबाट समुदायको सूचना अधिकारलाई कसरी स्थापित गर्ने ? पत्रकारिता भित्रको यो चुनौती अहिलेको सबैभन्दा गम्भीर चुनौती हो।

सञ्चार माध्यमको चरम केन्द्रीकरणबाट अब नेपाल पनि अलग रहन सक्ने छैन। नेपालमा पनि अबको पत्रकारिता सामाजिक सञ्जालको कोलाहलमा हराउला कि भन्ने चिन्ता पत्रकारिता भित्रकै गम्भीर खतरा मध्ये एक हो ।

सिलिकन भ्यालीले नियन्त्रण र फिल्टर गर्ने ‘क्लिक बेट’ पत्रकारिताले कसरि आम पत्रकारिताको आत्मामाथि प्रहार गरिरहेको छ ? यसले के स्वतन्त्र पत्रकारितालाई जीवन्त रहन देला? यो संसारभरका पत्रकारहरुले उठाइरहेको अर्को गम्भीर प्रश्न हो।

सामाजिक संजाल र सूचना नियन्त्रणलाई एकछत्र हल्लाईरहेको सिलिकन भ्यालीको सफ्टवेयर कन्ट्रोल रुममा के कुरा बढाइचढाइ गर्ने र के चाहिं नगर्ने भन्ने डिजाइन गरिन्छ। भनिन्छ त्यसखाले सञ्चार माध्यममा सम्पादकीय मूल्याङ्कन शून्य रहन्छ। यस्तो सञ्चार माध्यमका लागि उपभोक्ता झुम्मिने हरेक कुरा उचित भइदिन्छन्। चाहे त्यो लैंगिक वा जातीय विभेदकारी स्क्रिप्ट होस् वा अन्धराष्ट्रवादी उन्मादको स्क्रिप्ट। युद्धोत्तेजक ललकार होस् वा घृणा फैलाउने डिभाइस, पत्रकारिताको संहिता अनुसार त्यहाँ कुनै कुरा फिल्टर गरिदैन।

डाटा रिटेन्सन, आर्टिफिसियल इन्टेलिजेन्स, स्पाइवेयर र स्वेच्छाचारी निगरानी जस्ता डिजिटल प्रविधिहरू र अभ्यासहरूद्वारा गोपनीयताको अधिकारमा हुने खतराहरूको सन्दर्भमा गोपनीयता मापदण्डहरू बलियो हुनुपर्छ। जसबारे पत्रकारहरुले उचित चासो ब्यक्त गरिरहेको कुरा कसैबाट छिपेको छैन।

त्यस्तै, पत्रकारहरू विरुद्ध अनलाइन हमलाहरू, उत्पीडन, धम्की र गोपनीयताको उल्लङ्घनका योजनाबद्ध अभियानहरूलाई रोक्न र हटाउन बलियो कदमहरू चाल्नु पर्छ।

नेपालको कर्पोरेट हाउसभित्रको कान्तिपुर प्रकरणले संचार क्षेत्रभित्र हुने महिलाहिंसालाई पुष्टि गरिसकेको छ। विशेष गरी अनलाइन र अफलाइनमा हिंसात्मक रूपमा लक्षित महिला पत्रकारहरूको सुरक्षाका लागि जवाफदेहिता बढाएर तीव्र कदमहरू चाल्नु आवश्यक छ।

पत्रकारितामा डिजिटल घेराबन्दी तोड्न र चुनौतीहरूको बहुपक्षीय समाधान खोज्न सदस्य राष्ट्रहरू, इन्टरनेट मध्यस्थकर्ताहरू र नागरिक समाज सबैको भूमिका हुन्छ र हुनु पर्छ ।

अन्त्यमा, व्यस्त पत्रकार, प्रकाशक, प्रसारक, ब्लगर, भ्लगर वा मिडिया मालिकको दैनिक जीवनमा, पत्रकारिताका आधारभूत सिद्धान्तहरूलाई बेवास्ता गरिदै आएको देखिन्छ। अर्को तिर हामी संचारकर्मीहरुपनि बहकिन थाल्छौँ,कहिलेकाही पूर्वाग्रही बन्दछौँ र हरेक समाचारलाई पांच डब्लुको आधारमा जांच पड्ताल गर्दैनौँ। अन्तमा गलत नतिजामा पुगेर समाचार सम्प्रेषण गर्छौं। त्यो प्राय आलोचनात्मक चेत नभएका पत्रकारहरुको हकमा अझ बढी लागु हुन्छ। पत्रकार हरेक कुरामा संकालु,सुचनामा पारदर्शी,स्थाई प्रतिपक्षी र आलोचनात्मक चेत भएको हुनु पर्छ। भावनात्मक लगाव, वैचारिक वा धारणागत पूर्वाग्रह, व्यक्तिको निश्चित स्वार्थलगायतका प्रवृत्तिबाट तटस्थ बनेर तथा विज्ञानका नियमहरूलाई प्रयोग गरेर व्यक्ति, घटना र वस्तुको गतिलाई हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने दिशामा क्रियाशील चेत नै आलोचनात्मक चेतना हो । आलोचनात्मक चेत निर्माण र त्यसको प्रयोगको प्रक्रियामा लेखिनु,बोलिनु र देखाइनुपर्ने कर्म भनेको पत्रकारिता क्षेत्र हो । त्यसैले पत्रकारतामा मात्र यो चेतनालाई समुदायको दिर्घकालिन हितलाई मानक बनाएर तरिकाबाट प्रयोग गरिनु पर्छ। त्यो हामी नेपाली पत्रकारहरुको लागि पनि त्यतिकै सत्य हो जति डायस्पोराका पत्रकारहरुको लागि सत्य हो। अबको स्वतन्त्र पत्रकारिताबारेको बहसमा यो तर्क पनि उठाइनु आवश्यक छ।

आधुनिक युगमा संचारमाध्यम मानवको अन्तरक्रियाको महत्वपूर्ण अंग भएकोले यसले समुदाय र संचारकर्मीबीच मात्र अन्तरक्रिया गरिरहेको हुँदैन। यसले सरकार र अन्तर्राष्ट्रिय संघ संस्थासंग पनि अन्तरक्रिया गरिरहेको हुन्छ। त्यसले सामाजिक न्याय तथा सम्पति र सुबिधाको असमान वितरण प्रणालीतर्फ पनि आवाज उठाईरहेको हुन्छ। त्यहि सूचना वार्तालापको अन्तरसम्बन्धलाई विशेष गरी अभिव्यक्ति स्वतन्त्रताले निरन्तरता दिएको हुन्छ। अभिव्यक्ति स्वतन्त्रताले नै स्वतन्त्र पत्रकारितामा अहम् भूमिका खेल्न सक्छ। अभिव्यक्ति स्वतन्त्रता भन्नाले समुदायको वाक् स्वतन्त्रतालाई बुझ्नु पर्छ। तर अहिले त्यसमा साहित्य, लेख, रचना र समाचारका विभिन्न रुपहरु पनि पर्दछन्।

मानवीय मूल्यको कसीमा अभिव्यक्ति स्वतन्त्रताले जति महत्व राख्छ त्यो भन्दा बढी समानताको मुद्दालाई मानवताको दृष्टिमा अझै न्यायिक मानक मानिन्छ।

आधुनिक संचार क्षेत्रमा समानताको मुद्दा आर्थिक परिदृश्यको कुरा मात्र रहेन। त्यो सूचनाको समान हक, स्चनाको समान पहुँच, शिक्षा र सुरक्षामा समान अधिकारमा पनि लागू हुन्छ। स्रोत, साधन र सामाजिक न्याय आदि कुरामा समानता समुदायको राजनैतिक प्रणाली र वैश्विक सामाजिक प्रणालीले निर्धारण गर्ने कुरा हुन्। त्यसैले पत्रकारितामा देश वा राजकीय प्रणालीको कुनै सीमा तथा बन्धन हुदैन भनिएको हो।

सारांशमा उमेर, लिङ्ग, जाति, जातीय पहिचान, राष्ट्रियता, भाषा, वर्ग, सामाजिक उत्पत्ति वा धर्मको भेदभाव नगरी हरेक मानिस जन्मजात समानताको हकदार छ भनी स्वीकार गर्ने नीतिलाई मानव अधिकारको बडापत्रले सुनिस्चित गरेको छ। त्यहि आधारमा वैश्विक मानव हरेक देशमा कारण देखाएर सबैतिर बस्न र सुसूचित हुन पाउने स्वतन्त्रता समानताको अन्तर्निहित मान्यतासँग जोडिएको हुन्छ।

मानिसका यिनै मूल्यहरुलाई केन्द्रमा राखेर प्रेसले पनि मानिसको सामाजिक जीवनको सही रिपोर्टिङ गर्न सक्षम हुनुपर्छ। तर हाम्रो नेपालको पत्रकारिता अलिक बढी असन्तुलित, फेवर खोज्ने र वैचारिक ध्रुवको मात्रै पक्षधरतामा ढल्किने रुझानले गाँजेको छ। मतलव उनीहरु समुदायको नभएर आफ्नो पक्षपोषण खोज्छन्। त्यसको असर नेपाली डायस्पोराको पत्रकारितामा समेत देखिने गर्दछ। त्यसको प्रमुख कारण दक्षताको अभाव नै हो। जब पत्रकारहरू राम्ररी प्रशिक्षित हुन्छन् तब सूचनाको विश्वसनीय स्रोत बन्दछन्। अन्यथा सार्वजनिक शिक्षकको रुपमा प्रेसले भूमिका नखेल्न सक्ने खतरा रही रहन्छ।

छोटकरीमा भन्दा पत्रकारिता चाहे त्यो कुनैपनि बिटबाट गरिएको किन नहोस्, दिइने सूचना प्राय: मानव समुदायको हितका बिबिध पक्षलाई समेटेर गरिन्छ। हाम्रा लेख, सम्पादकीय वा शैक्षिक बिषयहरुमा जैविक अस्तित्वको सवाल प्रभावकारी रुपमा आउँछ। जस्तै: पत्रकारिताले जलवायु परिवर्तन, पोषण, स्वास्थ्य (विशेष गरी एचआईभी जस्ता रोगहरू सम्बन्धी) सहित शैक्षिक विषयहरूको विस्तृत श्रृंखलाको बारेमा वयस्क जनसंख्यालाई सूचित गर्न सक्छ।

आर्थिक पत्रकारितामा आधारभूत मुद्रा व्यवस्थापन र बजेट, कृषिमा विकास, बाल हेरचाह र यस्तै बिषयले प्रधानता पाउँछन् भने प्राकृतिक रुपमा जल, जमिन र न्यायिक वितरण प्रणालीका कुराहरु पनि आउँछन्। त्यसैले पत्रकारिता खेल, मनोरंजनदेखि बिज्ञान, खगोल र ब्यबस्थाभित्रका सूचना संगसंगै अनियामितताहरुको खोदाई पनि हो। त्यो सबै स्वतन्त्र पत्रकारिताबाट, अझ अगाडी बढेर भन्दा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबाट मात्र सम्भव छ।

 अगाडी नै भनियो कि अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसमा विश्वभर समाचार संकलनको क्रममा सहिद भएका पत्रकारहरुको पनि सम्झना गरिन्छ। विश्वभरका देशहरूबाट सङ्कलन गरिएको तथ्याङ्कले सन् २०२१ मा विश्वभर ४६ पत्रकार मारिएको खुलासा गरेको छ। सन् २०१२ मा १४७  पत्रकार मारिए, तुलनात्मक रुपमा २०२१ मा २००३ देखि यता सबैभन्दा कम पत्रकार मारिए।

क्षेत्रका आधारमा पत्रकारको मृत्युको तथ्याङ्कले देखाउँछ कि २०२० मा इराकमा छ जना पत्रकारको हत्या भएको छ भने पाकिस्तानमा चार र भारतमा चार घटना भएका छन्।

पत्रकारहरूका लागि संसारको सबैभन्दा खतरनाक देश मेक्सिको हो, जहाँ २०२० मा आठ पत्रकार मारिएका थिए। मेक्सिकोमा पत्रकारहरूलाई बारम्बार निगरानीमा राखिन्छ, धम्की दिइन्छ र राजनीतिक भ्रष्टाचारको पर्दाफास वा प्रचार गर्ने प्रयास गरेको आरोपमा घातक सजाय दिइन्छ जुन ज्यादै दुखद कुरा हो। देशको हिसावले मेक्सिकोमा हरेक वर्ष औसतन आठदेखि दश पत्रकारको हत्या हुने गरेको छ ।

समाचार संस्था, लाटभियन-आधारित रूसी अनलाइन खोजी मिडिया आउटलेट द इनसाइडरका अनुसार हालसालैको युक्रेनी युद्धको क्रममा रुसी पत्रकार ओक्साना बाउलिनाको राजधानी कीभमा २३ मार्चमा “कामिकाजे ड्रोन” – विस्फोटक पदार्थ भएको हवाई ड्रोनद्वारा हत्या गरिएको थियो। त्यतिबेला, उनी कीभको उपनगर पोडिलमा रहेको सपिङ सेन्टरमा अघिल्लो आक्रमणबाट भएको क्षतिको रिपोर्ट गरिरहेकी थिइन्।

आरएसएफको पूर्वी युरोप र मध्य एसिया डेस्कका प्रमुख जेन क्याभेलियरले भने अनुसार विश्वभरी वर्षको सुरुवातदेखि मारिएका पत्रकारहरूमध्ये एक चौथाइ युक्रेनको युद्ध कभर गर्ने क्रममा विगत ३० दिनमा मरेका छन्। ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की, फक्स न्यूजका लागि फिक्सरको रूपमा काम गर्ने २४ वर्षीय युक्रेनी पत्रकार ओलेक्जेन्ड्रा कुभ्सिनोभा, इभगेनी साकुन, कीभ लाइभ टिभी च्यानलका लागि काम गर्ने युक्रेनी क्यामेराम्यान, जो मार्च १ मा कीभ टेलिभिजन टावरमा रूसी मिसाइलहरूले प्रहार गर्दा मारिए।

यहि मंचबाट “पत्रकारहरूमाथि आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हो भन्ने कुरालाई जोड दिंदै हामी रूसी र युक्रेनी अधिकारीहरूलाई पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछौं।” यी सबै लगायत अहिलेसम्म संसारभर रिपोर्टिंगको क्रममा शहिद भएका पत्रकारहरुलाई हार्दिक श्रद्धान्जली अर्पण गर्दछु !

लेखक नेपाल पत्रकार महासंघ युरोप शाखाका सल्लाहकार तथा बेल्जियम शाखाका उपाध्यक्ष हुन् । यो आलेख नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत कार्यपत्रमा आधारित छ। सं.