एक जमानाको आर्थिक रुपमा समृद्ध र विकासको सफल उदाहरण मानिएको युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक समृद्धि खोज्न ओइरिएका छन् । यो आलेख तयार पार्दासम्म पनि लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपको ढोका ढोकामा पालो पर्खिरहेका छन् । विश्वका कतिपय देशका नागरिक समृद्धिका लागि त कतिले जीवन सुरक्षाका लागि ती देशमा शरण मागिरहेका छन् । मध्यपूर्वी तथा कतिपय मध्य अफ्रिकी मुलुकहरुमा पछिल्ला वर्षहरुमा आर्थिक हिंसा बढ्दै गएपछि यसरी शरण खोज्नका लागि ती देशबाट निर्दाेष र सोझा सिधा नागरिकले युरोपेली देशको ढोका ढकढकाउन पुगेका छन् ।
अर्कातर्पm एसिया एवम् खासगरी तेस्रो विश्वका गरिब देशका नागरिकमा अभाव, गरिबी तथा बेरोजगारीले निकै नै पिरोलीरहेको छ । यी अभावको औषधिको खोजीमा पनि कयौँ नागरिकले युरोपलाई आफ्नो भरपर्दाे र अन्तिम गन्तव्य बनाइरहेका छन् ।
यसका कारण यतिखेर युरोपेली देशहरुमा यसरी शरण खोज्ने आप्रवासीहरुको ठूलो भीड लागेको छ । यो भीडको साक्षी यतिखेर युरोपेली युनियन आवद्ध देशहरु बन्न पुगेका छन् । यस भूगोलमा युरोप एक समृद्ध माटोको नाम हो । दोस्रो विश्व युद्धपछि आफ्नो विकासलाई संसारकै अब्बल दर्जामा राख्न उनीहरु सफल भएका हुन् । युरोपको विकास आधुनिक विकासको पनि एक पर्याय नै हो ।
तर पछिल्लो समयमा अर्थात् सन् २००८ सुरु भएको विश्वव्यापी आर्थिक मन्दीको चक्रले भने सबैभन्दा बढी यही माटोलाई नै छोएको हो । आजका दिनसम्म आइपुग्दा पनि इटाली, ग्रिस, पोर्चुगल, स्पेनजस्ता देशले आफ्नो नियमित आर्थिक विकासका विगतका सफलतालाई निरन्तरता दिन सकिरहेका छैनन् । आर्थिक विकासको गतिमा देखिएको यो तगारोले विश्वको अर्थतन्त्र एवम् अर्थशास्त्रमा नै एउटा नयाँ शब्द थपिदिएको हो– युरोजोन आर्थिक मन्दी अथवा ‘युरो क्राइसिस्’ ।
यस्तै सङ्कटबाट गुज्रिएको भएपनि समृद्धिका लागि लामबस्ने नागरिकको सङ्ख्यमा भने कुनै कटौती आउन सकिरहेको छैन । सुरक्षा र समृद्धिका खोजी युरोपेली युनियन आबद्ध कयौँ देशमा यतिखेर व्यापक मात्रामा खोजी भएको छ । जसका कारण ती देशलाई यतिखेर व्यवस्थापनमा नै समस्या देखिएको छ । हुनत पछिल्लो समयमा सुरक्षाका लागि युरोप प्रवेश गर्नेको भीड नै बढी देखिन्छ । तरपनि केही वर्षयतादेखि सुरु भएको आइएस समस्याको प्रवेश कतैबाट युरोपमा पनि प्रवेश गर्ने हो कि भन्ने त्रासले पनि ती देशलाई अहिले आएर छोएको छ ।
कतिपय विश्लेषकहरुले आजभोलि युरोप एउटा अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको टिप्पणी पनि गरेका छन् । यही समस्याको समाधानका उपाय खोज्न गतहप्ता जर्मन चान्स्लर एन्जेला मार्केलले युरोप भ्रमण गर्नुभयो भने शनिबार बेलायती प्रधानमन्त्रीले यो भ्रमणको तय गर्नुभएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरोन शनिबार स्पेनको राजधानी म्याड्रिड पुग्नु भएको छ । उहाँ आफ्ना स्पेनी समकक्षी मरीयानो रजोएसँग युरोपमा हाल जारी शरणार्थी सङ्कटको विषयमा वार्ता गर्नको लागि त्यहाँ पुग्नु भएको हो । क्यामरोन र रजोए दुबैलाई सिरियामा जारी द्वन्द्वबाट देश छोडी भागेका शरणार्थी समस्याका कारण विपक्षीहरुले एक मुद्दा बनाइरहेका छन् ।
युरोपमा देखिएको यो पछिल्लो समस्याको बारेमा टिप्पणी गर्ने विश्व समुदायले यसलाई मानवतामाथिकै एउटा चुनौतीका रुपमा व्याख्या गरेका छन् । अफ्रिका, अरब र पश्चिम एसियाबाट लाखौँ मानिस समृद्ध युरोपको सीमामा पुगेका छन् । आफ्नो देशमा जारी गृहयुद्ध, तानाशाही शासन व्यवस्था, उत्पीडन, गरिबी, बेरोजगारी र अन्य समस्य सहन नसकी यी मानिस आफ्नो पुख्र्यौली घर छोडेर भाग्न बाध्य छन् । उनीहरु राम्रो जीवनको आशमा आफ्नो ज्यान हत्केलामा राखेर जमिन र समुद्रको बाटोबाट युरोप पस्ने प्रयास गरिरहेका छन् । शनिबारका विश्वका सञ्चारमाध्यमका समाचारहरु हेर्ने हो भनेपनि ती देशका लाखौँ नागरिक यसरी युरोपको द्वारमा लाममा बसेका छन् ।
गतहप्तामात्र पनि अस्ट्रियामा एउटा ट्रकमा निस्सासिएर ७१ जनाको मृत्यु भएको थियो । समुद्रमा सयौँ मानिस डुबेर मृत्यु भएका समाचारहरु पनि आइरहेकै छन् भने यस्तो प्रयासमा हजारौँको मृत्यु भइसकेको छ । यो वर्षको जनवरीयता भूमध्य सागरमा डुबेर दुई हजार २७० जनाको मृत्यु भएको अनुमान छ । मेसेडोनियाले आप्रवासीहरुको चहलपहललाई रोक्नका लागि सङ्कटकाल नै लागू गरेर आफ्नो सीमा बन्द गरिदिएको थियो । यी दुःखी मानिसले युरोपेली सङ्घलाई चिन्तामा पु¥याएको पनि सो संघको अनुभव समय समयमा सुन्न पाइन्छ । यो समस्याको समाधान के हुन सक्छ भन्ने जवाफ अहिले कसैसँग छैन । केही मुलुक भने आफ्नो सीमामा जम्मा भएका आप्रवासीहरुलाई बल प्रयोग गरेर खेदिरहेका छन् ।
यसरी आप्रवासीले आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणर्थी आवेदनको सङ्ख्या नाटकीय रुपमा बढेको देखिन्छ ।
सन् २०१३ को तुलनामा भने यसवर्ष कम्तीमा पनि ६५ प्रतिशतले बढेको पाइन्छ । सन् २०११ देखि अहिलेसम्म जर्मनीले पाँच लाख ४७ हजार ३४, फ्रान्सले दुई लाख ५५ हजार ८००, स्वीडेनले दुई लाख २८ हजार ६०१, इटालीले एक लाख ५५ हजार ५३६ र बेलायतले एक लाख २५ हजार १३९ जनाको आवेदन प्राप्त गरेको बताएका छन् ।
यसरी ज्यानको बाजी नै लगाएर विविध खालको कष्ट उठाएर युरोप पुगिरहेका छन्् कयौं देशका नागरिक । अर्कोतिर उनीहरुसँग भने ती देशका स्थानीय नागरिकहरु आक्रोशित पनि बनिरहेका छन् । यो आक्रोशको मात्रा बढेपछि शरणार्थी नीतिमा परिवर्तन गर्न ती देश अबभने बाध्य भएका बताइन्छ । अहिले यो सङ्कटको समाधानका लागि जर्मन चान्सलर एन्जेला मर्केलको नेतृत्वमा पहल भइरहेको बताइन्छ । युरोपेली आयोगले जुनमा एउटा दीर्घकालीन आप्रवास एजेन्डा बनाएको थियो जसलाई युरोपेली नेताहरुले समर्थन त दिए तर कसले कति बोझ उठाउने हो भन्ने बारेको अस्पष्टताले पनि समस्या पैदा गरिरहेको छ ।
सिंगो युरोपलाई लक्ष गरेर भित्रिएका ती आप्रवासीका नाममा कसले कतिसम्मको बोझ सहिदिनुपर्ने हो भन्ने बारेमा भने अझैपनि ती देशबीच मतैक्यता हुन सकिरहेको छैन । उता इटाली र ग्रिस डबलिन नियममा सुधार चाहन्छन् । यो नियमअनुसार आप्रवासीले घर छोडेर हिडेपछि जुन युरोपेली मुलुकमा पहिलो कदम राख्छन्, त्यहीँ उसले शरणका लागि आवेदन माग्नुपर्ने हुन्छ । केही विशेषज्ञहरु युरोपले एउटा नयाँ शरणार्थी नीति बनाउनुपर्ने बताउँछन् जसमा राजनीतिक कदमको सिकार भएका मानिहरुलाई शरण दिने र आर्थिक कारणले हुने आप्रवासलाई स्वीकार्ने कुरा पुर्नपर्छ ।
एकराज पाठक