एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य आक्रमण गरे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउन सकिने दाबी गरेका छन् ।
अमेरिका तथा युरोपेली देशका नेताहरुले रुसमाथि युक्रेनमा सैन्य आक्रमण नगर्न चेतावनी दिइरहेका बेला बाइडेनले पुटिनमाथि व्यक्तिगत तहमै प्रतिबन्ध लगाउन सकिने बताएका हुन् ।
करिब एक लाख सैनिक सीमा क्षेत्रमा तैनाथ गरेको रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको अमेरिका र युरोपेली देशको आरोप छ ।
तर रुसले भने युक्रेनमा सैन्य आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । रुसले भने अमेरिका सहितका देशहरुले तनावलाई लम्ब्याएको आरोप लगाएको छ ।
यसैबीच युक्रेनलाई लिएर तनाव बढिरहेका बेला अमेरिकाले पनि करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको हो ।
डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्ड्स सहितका नेटो सदस्य राष्ट्रहरुले युरोपेली क्षेत्रको सुरक्षा अवस्थामा रुसी जोखिम बढेको भन्दै सुरक्षा मजबुद बनाउन युद्ध विमान तथा वारसिप पूर्वी युरोपमा पठाउनेबारे विचार गरिरहेका छन् ।