व्यापक भ्रष्टाचार हुने मुलकको सूचीमा नेपाल ११७ औँ स्थानमा
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा रहेको छ ।
२०२१ मा नेपाललाई एक सयमा ३३ अंक १ सय १७ औं स्थानमा रहेको थियो । अहिले पनि नेपाल नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको १ सय १७ औं नम्बरमा कायम रहेको हो ।
नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकापछिको पाँचौं स्थानमा छ । पाकिस्तान, बंगलादेश, अफगानिस्तान भने नेपाल भन्दा अझै तल रहेका छन् ।
डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड कुल एक सयमा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । दक्षिण सुडान ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।
विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो । प्रतिवेदनले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनुले भ्रष्टाचार बढेको देखाएको छ ।
ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता सन्देश दिएको छ ।