विद्युत चुहावटमा कमी

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावटमा कमी आएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९ दशमलव १० प्रतिशतमा झारेको छ ।

गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ११ दशमलव ९२ प्रतिशत थियो । प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२ दशमवल ९९ प्रतिशत छ । अघिल्लो वर्ष १७ दशलमव ३६ प्रतिशत थियो ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ ।

यस केन्द्रको विद्युत चुहावट २४ दशमलव ८१ प्रतिशत रहेको छ । बागमती प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१ दशमलव ९३ प्रतिशत चुहावट रहेको छ ।

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट १५ दशमलव ५५ प्रतिशत रहेका छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५ दशमलव ५६ प्रतिशत रहेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९ दशमलव ४२ प्रतिशत रहेको छ ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट २७ दशमलव १३ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ ।

गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २० दशमलव ४४ प्रतिशत पुगेको छ ।

Leave A Reply

Your email address will not be published.