स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत
काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।
छलफलमा सत्ता गठबन्धनका नेताहरु वैशाखमै निर्वाचन गर्न सहमत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । उनले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति तोकिने पनि जानकारी दिए ।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ । तर सरकारले निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरेको छैन ।