५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई चैतमा खोप दिइने

0

काठमाडौं : सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा यो समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ । शुरुमा ज्येष्ठ नागरिक र बढी जोखिम समूहलाई खोप लगाएको सरकारले अझै पनि ५० वर्ष माथिका व्यक्तिलाई प्राथमिकता दिने भएको छ ।

यसैबीच अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले आइतबारदेखि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको हो ।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

Leave A Reply

Your email address will not be published.