तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

0

तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका– ६ धरमपानीमा जिप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ ।

सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको ग एक ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बन्दिपुर–६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर–६ धरमपानी बस्ने ९ महिने शिशु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बीमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको छ ।

जिपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ । तिमध्ये एक जनाको अवस्था गम्भिर छ ।

जिप चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.