संक्रमण बढदो क्रममा रहेपनि राष्ट्रिय सभा निर्वाचन तालिकामा फरक पर्दैन : आयोग

0

काठमाडौं : निर्वाचन आयोगले कोरोना संक्रमण बढदो क्रममा रहेपनि राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने जनाएको छ ।

आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने जानकारी दिएको हो ।

राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगले प्रस्ट पारेको छ ।

आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुझाव लिने आयोगको तयारी छ ।

आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् ।

प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुईवटा मतदानस्थल रहनेछन् ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् ।

५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् ।

Leave A Reply

Your email address will not be published.