एजेन्सी : अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ६३ जना घाइते भएका छन् । १३ जनाको अवस्था गम्भिर छ ।
ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । विद्युत चुहावटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।
आगलागीबाट न्यूयोर्कमा भएको यो मृत्यु तीस वर्षयताकै सबैभन्दा खराब भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
गाम्बियाबाट अमेरिका आएका मुस्लिम आप्रवासी बस्दै आएको अपार्टमेन्टमा आगलागी भएको हो ।
न्युयोर्कका गभर्नर क्याथी होचुलले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने बताएका छन् ।
फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी भएर आठ बालबालिकासहित १२ जनाको ज्यान गएको केही दिनमै न्यूयोर्कमा यो घटना भएको हो ।