भ्रष्टाचारलाई घृणा गर्न कर्मचारीलाई एमाले अध्यक्ष ओलीको आग्रह
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गर्दै उनले सो आग्रह गरेका हुन् । “देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, उनले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।”
अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे ।
नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए ।
दुई तले भवनको कूल लागत रू एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए ।