बेल्जियममा नेपालीहरुको सुशी ब्यवसाय, -सफलता,संभावना र चुनौती,

0

यामु निरौला, अध्यक्ष नेपाली ब्यबसायी संघ बेल्जियम,

आजको समयमा शुशी युरोपको एउटा प्रख्यात खाना भएको यथार्थ कसैबाट पनि लुकेको छैन l तर जापानबाट युरोपको बजार वा रेस्टुरेन्टसम्म कसरि आयो र कसरि सफल भयो ? भन्ने उत्सुकतालाई सर्वप्रथम थोरै नियालौं है त !

शुशीको सुरुवात जापान बाट:-

जापानिज लेखक Naomichi Isige को अनुसार १५औं १६औं सताब्दीदेखि पिकल राइसमा काँचो माँछा खाने परम्पराबाट सुरुवात भएता पनि क्रमश: सन् १८२० मा भेनेगर मिसाएको पकाएको भात सँग माँछा मिसाएर खाने स्न्याक्सको रुपमा टोकियोमा प्रख्यात भएको थियोll

शुशी युरोप प्रवेश >अमेरिका हुँदै :-

सुशी कसरि ग्लोबल भयो भन्ने इतिहाँस खोतल्दा सन् १९७० मा जापानको बढ्दो आर्थिक अवस्था संगै त्यहाँको प्रबिधि र आकर्षक डिजाइनमा तयार गरिएका बिधुतिय सामानको निर्माण संगै जापान तत्काल संसारको नयाँ व्यवसायिक गन्तब्य बन्न सफल भयो र कारोवारको सिलसिलामा अमेरिका गएका जापानिजहरुलाई लक्षित गरेर अमेरिकामा सुशी रेस्टुरेन्ट सुरु गरिएता पनि पछि केहि अमेरिकनहरुले पनि यसको स्वाद चाख्न सुरु गरे l

तर सबै अमेरिकनले भातमा काँचो माँछा मात्र मिसाएको सुशी मन नपराएकोले सन् १९७३ मा आइपुग्दा California Roll , Inside out Roll with Crab , सुशिमा एभोकाड़ो को प्रयोग र Short-Grain Rice को प्रयोग हुन थाल्यो र छिटै सुशी फेसनेवल हुन थाले पछि न्यु योर्क जस्ता स्वस्थ खाना पाउने सहरमा भ्रमण गर्न गएका युरोपियनको स्वादमा प्रवेश पाउन सुरु भयो l

युरोपमा प्रवेस :-

सन् १९९० मा अमेरिकालाई पछ्याउदै द्रुत गतिमा युरोप भरि सुशी रेस्टुरेन्ट खुल्न थाले !सन् १९९७ मा लण्डनमा जापानिज रेस्टुरेन्ट Nobu लन्च भयो भने सोहि साल यु के सुशी चेन Yo! Sushi पहिलो सुशी रेस्टुरेन्टको रुपमा सोहो मा सुरु भयो र पछि डुब्लिन र मस्कोमा यसले आफ्ना शाखा बिस्तार गर्यो l यसै गरि अर्को चेन सुशिको रुपमा Planet Sushi पेरिसमा १९९८ मा सुरु भै अहिले पनि यसका शाखा Ibiza,Casablanca,Miami सहित फ्रान्स भरिनै छन् l फ्रान्समा मानिसहरुले पनि काँचो माँछा मात्र प्रयोग नगरेर स्वादको लागि स्मोक साल्मन ,एभोकाड़ो,चिकेन ,गाँजर ,काक्रो आदि प्रयोग गर्न थाले यसरि परिचित स्थानीय सामग्री प्रयोग हुन थाले पछि सुशी कम रहस्यमय हुदै यूरोपियनहरुले नुरी,सुशी राइस र

भेनेगर किनेर घरमा नै पनि बनाउन सुरु गरे क्रमश:रेडिमेड सुशी सुपर मार्केटमा नै पाउन थालियो l

फ्युजन शुशी :-

जसरि शुशी परिचित हुँदै गयो त्यसरी नै सैफहरुले यसमा नयाँ नयाँ प्रयोग गर्न थाले l तिनीहरुले स्थानिय रुममा पाइने माँछ,मासु,भेजिटेवल,फलफुल,सिजंड राइस आदिको प्रयोग गरेर नयाँ फ्युजन को अवधारणा अघि सारे l शुशी रोलहरुमा परम्परागत जापनिज मौलिक सैली र सामग्रीको सट्टा Sirlon Steak , Scottish Salman आदिको प्रयोग हुन थाल्यो त्यसै गरि जापानिज चाइनिज स्टाएलको सुशि रोलको टपमा मेरिनेटेड Peking Duck प्रयोग गर्न थालियो !युरोपका रेस्टुरेन्ट हरुमा Permesan Cheese , Foie gras, Mozzarella ,spices सुशी रोलहरुमा प्रयोग गरेर युरोपियन सुशिको रुपमा नयाँ दिशा दिइयो l

युरोपमा सुशी किन लोकप्रिय छ त ?:-

हिजो पनि आज पनि सुशी युरोपमा लोकप्रिय हुनुको कारण नयाँ खाना र यस प्रतिको उत्सुकता नै होl विभिन्न रङका माँछाको सुन्दर मिश्रण र आकर्षक रुपको बनावटले यसलाई हेर्दै खाउँ खाउँ लाग्ने एक्जोटिक र फेसनेबल बनाइदियो Iत्यसैगरी ठिक्क मुखमा अट्ने साइज र कम बोसोयुक्त स्वस्थ खानाको रुपमा मानिसहरुले सुशिलाई लिन थाले l फ्युजन अवधारणाले अरु कन्टिनेन्टल खानाका पारखिहरुको लागि पनि जिब्रोमा स्वादको स्थान पाउन थाल्यो l यो चिसो खाना हुनाले टेक अवे र होम डेलिभरी गर्न सजिलो अफिस र काममा लन्चको रुपमा पनि खान सकिने विबहा,कार्यक्रम र पार्टीहरुमा सुशीलाई खानाको रुपमा सुन्दर किसिमले सजाउन सकिने जस्ता कारणले यसको लोकप्रियता दिन प्रति दिन बढ्दै गइरहेको छ l

नेपाली व्यवसायीको बेल्जियममा सुशी व्यवसायको इतिहाँस :-

-सन् २००५ मा Asian Food Factory Bvba को नाम बाट Yves Nierverding र प्रदिप घले ( दोर्जे )को संयुक्त लागानीमा एन्त्रोपेनमा zaowang Sushi सुरु गरेको र सोहि सुशीमा पहिलेनै क्यानाडामा अनुभब भएकोले सुशी सेफको रुपमा नारायण चित्रकारले काम सुरु गर्नु भएकोl

-सन् १९८७/८८मा जापानमा काम गरेको अनुभवको आधारमा सन् २००६ मा इन्द्र गुरुङले ब्रुजमा Yaku Sushi Takeaway खोलेको-(हाल उक्त सुशी अस्तित्वमा नरहेको) l

-सन् २००७ मा Zaowang छोडेर प्रदिप घले (दोर्जे )ले १बर्षको अमेरिकामा गएर सुशी सम्बन्धि थप जानकारी र तालिम लिएर एन्त्रोपेनमा नै Sushi Palace सुरु गरेको l

-अर्जुन कुमार श्रेष्ठले सन् २००४ देखि Umi sushi एन्त्रोपेनमा मेनेजरको रुपमा काम गरेको अनुभवको आधारमा सन् २००७ को मार्चमा एन्त्रोपेन मा नै Ocean Sushi सुरु गरेको l

-सन् २००७ को जुनमा नारायण चित्रकार र हरि थपलियाको संयुक्त लगानीमा एन्त्रोपेन ब्रास्कार्डमा Oishi sushi सुरु भएको l

-सन् २००९ मा zaowang मा नै काम गरेको आधारमा पदम गुरुङ र ओम थापाको संयुक्त लागानीमा लुवेनमा Inari Sushi खोलिएको l

-सन् २००९ मा नै सन् २००३ देखि Umi sushi एन्त्रोपेनमा काम गरेको अनुभवको आधारमा नेत्र मगर र मोहन राई को संयुक्त लगानीमा लुवेनमा Sakuraa Sushi खोलिएको l

-सन् २००९ को अगस्टमा कुल मगर , धनराज मगरले बेल्जिक साझेदार सँग मिलेर लुबेनमा The Sushi Lounge खोलिएको (२०१८ मा बन्द भएको)l

एन्त्रोपेनका Umi Sushi र Zaowang Sushi मा काम गरेको अनुभवको आधारमा पछि सम्म पनि अरु धेरै नेपालीहरुले सुशी व्यवसाय खोलेको देखिन्छ !

(सन् २०१० देखि तिब्र रुपमा धेरै संख्यामा नेपाली व्यवसायीका शुशी खोलिएका कारण सबैको नाम राख्न असम्भव भएकोले सुरुका वर्ष सन् २००५ देखि २००९ सम्मका केहि शुशिका नाम मात्र यहाँ उल्लेख गरिएको छ)

यसरी सन् २००५ देखि सन् २००९ सम्म आइपुग्दा नेपाली व्यवसायीका ५/७ बटा मात्र सुशी ब्यवसाय मन्द गतिमा खुलेता पनि त्यसपछिका बर्षहरुमा क्रमश:तिब्र रुपमा खोलिन थाले l पछिल्लो बर्षहरुमा नेपालीहरु पोर्चुगलबाट बेल्जियम आएर सुशी व्यवसाय खोल्ने ट्रेन्ट नै बिकाश भए संगै हाल सम्म ३०० को हाराहारीमा नेपाली व्यवसायीका सुशी व्यवसाय संचालनमा छन् l

सुरुका बर्षहरुमा फ्युजन सुशीका स्वादिस्ट विभिन्न सुशी रोलहरुको अवधारणाको आफुले जानेको अनुभब र मेनु अरु व्यवसाय खोल्न चाहने नेपालीहरुलाई सेयर गर्ने “नारायण चित्रकार “यहाँको नेपाली सुशी व्यवसायको इतिहाँस कोट्याउदा बिर्सन नहुने नाम हो ! वहाँले बनाउन सिकाएका Dragon Eyes , Manathan,लगायत अरु फ्युजन सुशिका स्वादिस्ट र आकर्षक रोलहरु आज पनि प्राय:सबै सुशी रेस्टुरेन्टका मेनुहरुमा पाइन्छन !

त्यसैगरी नयाँ व्यवसाय खोल्दा र संचालन गर्दा आवस्यक सबै प्रकृयाको खुलेर जानकारी दिने नयाँ व्यवसाय खोल्न प्रेरणा दिने आफु नेपाली व्यवसायी सँघ बेल्जियमको अध्यक्ष हुँदा व्यवसाय संचालनका आवस्यक अन्तरक्रियात्मक तालिम सेमिनारहरु आयोजना गरेर सबै व्यवसायीलाई आत्मबिश्वास बढाउने “अर्जुन कुमार श्रेष्ठ” पनि बेल्जियमको सुशी व्यवसाय इतिहाँसको सधैँ सम्झनु पर्ने नाम भएको पुराना व्यवसायीहरु बताउनु हुन्छ !

सफलता र सम्भावना:

करिव ५/६ हजार मात्र नेपालीहरु बसोवास गर्ने देश बेल्जियममा सबैखाले गरि नेपालीका करिव ४५० व्यवसाय हुनुले यहाँको बजार र नेपालीहरुको ठुलो लगानी सहितको उद्यमसिलता प्रस्टै झल्कन्छ त्यसमा पनि अधिकाम्सले शुशी व्यवसाय रोजेको र यो आलेख पनि सुशीसँग सम्बन्धित भएकोले शुशी व्यवसायको मात्र चर्चा गर्ने प्रयास गरिएको छ !

सन् २००५ देखि सुरु गरेको सुशी व्यवसाय अहिले सन् २०२२ को संघारमा आइपुग्दा करिव नेपाली व्यवसायीका ३०० सुशी व्यवसाय खुलिसकेका छन् भने यो क्रम जारि छIlनेपाल भन्दा ५ गुणा सानो करिव ३०,००० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बेल्जियम त्यसमा पनि फ्रेन्च पार्टलाई छोडेर आधा भन्दा कम भूभागमा नेपालीका यति धेरै सुशी व्यवसाय हुनुले यसको घनत्व सजिलै अन्दाज गर्न सकिन्छ l

बेल्जियममा सुशी व्यवसाय नेपालीको सफलताको पर्यायबाची बनिसकेको छ,एउटै सुशी ब्रान्डको नामबाट एउटा भन्दा बढी साना गाँउ देखि ढुला सहरहरुमा चेन अवधारणाको प्रतिस्पर्धा नै चलेको देखिन्छ l अपवादलाई छोडेर खोलिएका सबै नेपालीका शुशी व्यवसायहरु उत्साहजनक रुपले संचालन भैरहेका छन् l नेपाली व्यवसायिक समुदाय भित्र नै यति धेरै संख्यामा सुशी व्यवसाय हुनाले सुशी लाई चाहिने काँचो माछा र अन्य सबै सामग्री एकै ठाउँमा पाइने होससेल पसल पनि खुलिसकेका छन् lकेहि सुशी व्यवसायीहरुकै संयुक्त लगानीमा आवस्यक सबै सामान इम्पोर्ट समेत गरेर रेस्टुरेन्ट सम्म डेलिभरी गरिने ठुलो लगानीमा करिव २ बर्ष अगाडी खोलिएको FoodAsia Belgiun र काँचो माछाका लागि छुट्टै शुशी व्यवसायीद्वारा खोलिएका Fish Palace र Fish king यसका पछिल्ला उदाहरण हुन l

यसरि हेर्दा करिव १५ बर्षको छोटो अवधिमा सुशी र यससँग सम्बन्धित व्यवसायबाट नेपाली व्यवसायीहरुले चमत्कारिक सफलता हाँसिल गरेको देखिन्छ !अवसरको खोजि या अन्य बिबिध कारणबाट प्रवासिएका नेपालीहरुबाट सानो भूगोल भएको देश बेल्जियममा सुशी व्यवसायबाट जीवनस्तर नै परिवर्तन हुने गरि आर्जन गरेको यो सफलता समस्त डायस्पोराको उदाहरण र गर्वको बिषय बनेको छ l

व्यवसाय सुरु गर्दा होस् वा संचालन गर्दा आउन सक्ने चुनौतिहरुको सुक्ष्म अध्ययन र बिस्लेसण गरि यसलाई अवसरमा बदल्न सक्ने दुरगामी सोचको विकास गर्न सकियो भने यो नेपाली व्यवसायीको लागि बरदान हुनेमा कुनै संखा छैन l

चुनौती र जोखिम :-

सामान्यतया चुनौती र जोखिम भन्ने शब्दावली व्यवसायको परिभाषा भित्रै पर्छ भन्दा खासै अत्युक्ति नहोला त्यसमा पनि छिटै बिग्रन सक्ने काँचो माछाको र माइनस २० डिग्री सम्म तापक्रममा भण्डारण गरेर प्रयोग गरिने फ्रोजन माछा शुशिमा प्रयोग हुने हुँदा यो अत्यन्त

जटिल र संबेदनशील बिषय हो lआवस्यक ज्ञानको अभाव वा सानो हेल्चेक्र्याई गर्दा कुनै नेपाली सुशी ब्यवासायिको व्यवसायमा खाएको सुशीको कारणबाट कोहि ग्राहक बिरामी वा कुनै अकल्पनीय घटना भएमा नेपालीका ३०० वटै सुशी व्यवसाय “एउटै बास्केटमा राकेको अण्डा” हुनसक्छन किनकि यहाँका स्थानीय ग्राहकहरुलाई बेल्जियमका प्राय:सुशी व्यवसाय नेपालीहरुको स्वामित्व र संचालनमा छ भन्ने कुरा राम्ररी थाह छ l

हामी प्राय नेपालीको स्वाभाव नै भनौ समयमा सचेत नहुने अनि समस्या परेपछि आत्तिने! हामी स्वभावले नै तथ्यगत र बस्तुगत बिश्लेसण भन्दा अनावस्यक भावानात्मक भै दिन्छौं! यो आचरणले नेपाली व्यवसायिक समुदायमा पनि गहिरो प्रभाव जमाएको देखिन्छ l नेपाल जस्तो यहाँ भनसुन,आफ्नो हैकम र प्रभावबाट कुनै समस्या देखि उम्कने छुट कसैलाई पनि छैन l यहाँ हरेक कुरा सिस्टमले चल्छ र चल्न नसके हदै सम्मको जरिमाना तिर्नुपर्ने हुन्छ त्यसमा पनि हामी पहिलो पुस्ता भएकोले यहाँको भाषा र कानुनसँग कम परिचित छौँ l व्यवसाय सुरु गर्दा होस् या संचालनमा सजक हुनुपर्ने Accounting,Social Secretary’s, Insurance,Workers Contract & Control,Tax,Food Control,Vat Control आदि बिषयमा अत्यन्त सचेत र यस सम्बन्धि अपडेट हुनु सफल व्यवसायी हुनुको पहिलो सर्त हो l त्यसकारण यस्ता महत्वपुर्ण बिषयमा आ आफ्ना लेखापाल वा वकिल सँग नियमित सम्पर्क गर्ने , हाम्रै समुदायका बुझेका साथीहरु सँग सम्बाद गर्ने , भाषामा अलि बढी ज्ञान भएका आफ्नै छोराछोरी मार्फत संचार गर्ने जस्ता कुराले पनि धेरै प्राबिधिक समस्या वाट उन्मुक्ति पाउन सकिन्छ l बेल्जियमको नेपाली व्यवसायीको संस्था नेपाली “व्यवसायी संघ बेल्जियम” ले पनि समय समयमा माथिका बिषयमा सम्वन्धीत बिज्ञ संग अन्तरक्रिया ,सेमिनारहरु शुशी तालिम आयोजना गर्ने ,नयाँ र परिवर्तित बिषयमा विभिन्न माध्यम बाट अपडेट गराउने गरेको छ !यस्ता कार्यक्रम तालिममा भाग लिएर होस् वा नेपाली भाषामा लेखिएका सुचना र जानकारीको अध्ययन गरेर पनि चुनौतीलाई सामाधानको नजिक ल्याउन ,अवसरमा बदल्न मद्दत पुग्छ l

माथिनै उल्लेख गरिसकियो कि नेपाल भन्दा झन्डै ५ गुणा सानो ३०,००० वर्ग किलोमिटर क्षेत्रफल भएको देश बेल्जियम त्यसमा पनि करिव आधा भूभागमा मात्र नेपाली व्यवसायीको सुशी व्यवसाय भएकोले यसको घनत्वको बारेमा थप ब्याख्या जरुरी भएन तथापी कुनै सिटीको एउटा सानो गल्लीमा नेपाली व्यवसायीकै ८/१० सुशी रेस्टुरेन्ट हुनु,५/७ हजार जनसंख्या भएको सानो गाउँमा नेपालीकै ४/५ बटा सुशी हुनुले पनि कतै हामी व्यवसायको अपेक्षित सफलता भन्दा पनि थोरै संकीर्णता,अस्वस्थ प्रतिस्पर्धा र देखासिकीको सिकार त भै रहेका छैनौ?एउटा प्रश्न तेर्सिदिएको छ l

यसको आसय नयाँ व्यवसाय खोल्नु हुदैन भन्ने किमार्थ होइन ! जति धेरै नेपालीका व्यवसाय भए यो नेपाली समाजको लागी त्यतिनै गर्वको बिषय हुनेछ तथापी अरुले सुशी खोल्यो र कमायो भनेर त्यहि सानो र सिमित ठाउँमा अर्को त्यहि प्रकृतिको व्यवसाय खोल्नु भन्दा पनि

नयाँ नयाँ सम्भावित ठाउँ र अवसरको खोजि गरेर व्यवसाय सुरु गरियो भने यति ठुलो सम्भावना बोकेको युरोपको बजारमा नेपाली मिहेनेती हातले हिरा फलाउन सकिन्छl

युरोप सुशी व्यवसायको अत्यन्त सम्भावना बोकेको बजार हो भन्ने कुरा सुशिको चेन ब्यापार गरिरहेका अन्तरराष्ट्रिय ठुला ब्यापारी वा लगानीकर्तालाई थाह नहुने कुरै भएन lअहिले सम्म बेल्जियममा त्यस्ता ठुला फ़्रेञ्चाइज कम्पनीहरुको उपस्थिति नदेखिएता पनि भोलि हुन सक्ने सम्भावित उपस्थितिले “ठुला माछाले भुरे माछालाई खान सक्ने अवस्था”नआउला भन्न सकिदैन l यस्तो अवस्थामा नेपाली सुशी व्यवसायी बिचको समझदारी,

सुझबुझ र कार्यगत एकताले मात्र प्रतिस्पर्धामा होमिनु पर्ने अवस्थालाई पनि समयमै ध्यान दिनु बुध्दिमानी हुनेछ l

कोरोना कहरको अन्तरराष्ट्रिय प्रभाव संगै यो व्यवसायमा पनि एउटा नयाँ र समसामयिक चुतौती थपिदिएको छ त्यो के हो भने युरोपमा सुशी व्यवसायमा प्रयोग हुने अधिकांश सामान चाइना लगायत एसियन देशहरुबाट आउने कतिपय ति देशहरुमा अहिले पनि आंसिक लकडाउन भएर उत्पादन कम हुने र एसियामा तुलनात्मक रुपमा बढी प्रकोप र जोखिम भएकोले युरोपका पानी जाहाज र कन्टेनर एसिया जान नमान्ने कारणले माग र आपूर्तिको नियम अनुसार कोरोना अगाडी प्रति कन्टेनर ढुवानी भाडा १,००० डलरबाट अहिले १२ देखी १५ हजार डलर सम्म पुगेको छ ! यसले गर्दा एकातिर यूरोपको बजारमा सामान अभाव छ भने अर्कोतिर सामानको मुल्यमा २०%देखि २५% बृद्दी भएकोले यसको सिधा असर नेपालीको सुशी व्यवसाय सम्म परेको छ !सिमित ठाउँमा आफु आफु बिचमा मुल्यमा कडा प्रतिस्पर्धा र प्राय रेस्टुरेन्टहरुले टेक बे र डेलिभरीका एजेन्सीहरु हरुसँग ३०%सम्म कमिसन बेसमा काम गर्नु पर्ने बाध्यताले यसै कम नाफामा व्यवसाय संचालन भैरहेको अवस्थामा थप संकट थपिदिएको छ त्यसैले नेपाली व्यवसायिक समुदायका धेरै सुशी रेस्टुरेन्ट हुनुको भरपुर फाइदा लिदै आपसी समझदारी गरेर सबैले एकैचोटी मेनुको मूल्य बढाउन सकियो यो संकटको मोचन हुन सक्छ यसको लागि नेपाली व्यवसायी संघ बेल्जियमले समन्वयकारी भूमिका खेल्न सक्छ l

अन्त्यमा नेपाली व्यवसायीले बेल्जियममा सुशी व्यवसायबाट प्राप्त गरेको चमत्कारिक सफलतालाई आत्मसात गरेर युरोपको मेघा बजारमा अवसर र चुनौतिको सुक्ष्म र बैज्ञानिक बिश्लेसण गर्न सकियो भने व्यवसायिक डायास्पोराले अर्को फड्को मार्ने निश्चित प्राय: छ l

***समाप्त***

बेल्जियमको नेपाली समुदायमा शुशी ब्यवसाय प्रतिको आकर्षण र त्यस भित्रका चुनौती र अबसर बारे जानकारी होस् भनेर नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष निरौलाको यो लेख एनआरएनए बेल्जियमको स्मारिकाबाट सभार गरिएको हो, – सम्पादक

Leave A Reply

Your email address will not be published.