काठमाडौं : सरकारले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिने भएको छ ।
माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेपछि कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अतिरिक्त खोप दिन लागिएको हो ।
कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेकालाई मात्र अतिरिक्त खोप लगाउन पाउनेछन् ।
यस्तै, मन्त्रालयले सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ ।
यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र लगाएर स्थगित गरिएको थियो ।
अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ । सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।