संसद सुचारु गराउन गठबन्धनको उच्चस्तरीय समितिले पहल गर्ने
काठमाडौं : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समितिको बैठकले संसद सुचारु गराउनका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले संसदलाई बिना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै प्रतिपक्षीको पनि कर्तव्य भएको निष्कर्ष निकालेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ ।
पाँच दलीय गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ ।
गठवन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउदै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।