सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनोट भए दुर्घटना हुन्छ : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गरेका हुन् ।
उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताए । उनले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनोट भएमा दुर्घटना निम्तिनसक्ने चेतावनी समेत दिए ।
उनले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाइ छ ।
नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताए । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उनले बताए । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उनले उल्लेख गरे ।