राष्ट्रिय सभा सदस्य निर्वाचन : सातै प्रदेशमा उम्मेद्वारी दर्ता
काठमाडौं : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारी दर्ताको समय निर्धारण गरेको थियो । सोही अनुसार सात वटै प्रदेशस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको हो ।
अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रुपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका थिए ।
प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ मा २ राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमाले गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलका तर्फबाट ३ जना र नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।