इजरायलमा कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन शुरु
एजेन्सी : इजरायलमा कोरोनाभाइरस विरुद्धको खोपको चौथो मात्रा लगाउन थालिएको छ ।
इजरायल सरकारले ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप दिन थालेको हो ।
ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।
कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।
इजरायलमा सोमबार थप छ हजार ५ सय ६२ जना नयाँ संक्रमित फेला परेका छन् ।
प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार संक्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।
खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ–नयाँ भेरियन्टले पनि असर पार्ने सम्भावना कम हुने वैज्ञानिकले बताउँदै आएका छन् ।