काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डिएपी मल खरिद गरेको अभियोगमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालतमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक, कर्मचारी र ठेकेदार गरी १२ जनाविरुद्ध मुद्दा दायर गर्दै एक अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ विगो दाबी गरेको हो ।
अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नेत्र भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहित ठेकेदार कम्पनी जोशी बिज हाउस र नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साइन्टिफिक सर्भिभिसेजका प्रवन्ध निर्देशन सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भियर महेन्द्र कुमार, प्रयोगशाला तथा परामर्श दाता भोलानाथ चौधरी लगायत विरुद्ध समेत मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
कम्पनी र आपूर्तिकर्ताबीच विना प्रतिस्पर्धा कानून विपरित ठेक्का सम्झौता गरेको अभियोग अख्तियारले लगाएको छ । २०७७ साल फागुनमा मल खरिद गर्दा गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रमाणित गरेको लगायत आरोप लगाइएको छ ।