पुसभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिने लक्ष्य पूरा हुन कठिन

0

काठमाडौं : पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने सरकारको लक्ष्य पूरा नहुने भएको छ ।

दैनिक पाँच लाखदेखि छ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने देखिएको छ । दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास रहेको छ ।

अहिलेको दरले खोप लगाउदा पुस मसान्तको लक्ष्य चैतमा पनि पूरा नहुने देखिएको छ । चैत मसान्तभित्र पूरै जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिने सरकारको लक्ष्य छ । त्यो लक्ष्य पनि लगभग पूरा नहुने देखिएको छ ।

आयात भएको खोप समयमै प्रदेशमा ढुवानी गरे पनि सिरिन्ज, विसर्जन गर्ने भाँडोसमेत समयमै व्यवस्थापन गर्न नसक्नु र खोप अभियानका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्दा खोप अभियान प्रभावकारी हुन सकेको छैन ।

अहिले संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ ।

शुक्रबारसम्ममा १ करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् भने १ करोड ३ लाख ८४ हजार ८ सय ५१ जनाले पूर्ण मात्रा खोप पाएका छन् ।

Leave A Reply

Your email address will not be published.