तिलकबाबु , नेपालगन्ज,
नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । स्टोर शाखामा कार्यरत २३ वर्षीय धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–६ कालिकोट धनप्रसाद भट्टराई, उहाँकी ४५ वर्षीया आमा कोकिला भट्टराई, २७ वर्षीया दिदी नन्दकली र उहाँका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । धनप्रसादकी २४ वर्षीया श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र १८ वर्षीय भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको एसपी अधिकारीले बताउनुभयो ।
परिवारका सातै जना सदस्य एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।