ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
डब्लुएचकोका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले अमेरिका र युरोपमा अहिले फैलिएका दुई भेरियन्टलाई सुनामीको संज्ञा दिएका हुन् ।
संक्रमणको गतिले यसै पनि थकित भईसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाव बढाएको उनको भनाइ छ ।
प्रमुख गेहब्रेयससले डेल्टा र ओमिक्रोनको फैलदो संक्रमणले स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको समेत उल्लेख गरेका छन् ।
धनी राष्ट्रहरुले गरीब देशहरुलाई खोप उपलब्ध गराउन छाडेर आफूहरुले बुस्टर डोजमा जोड दिंदा महामारी सोचे भन्दा धेरै समय लम्बिने देखिएको उनले दोहोर्याएका छन् ।
अहिले पनि विश्वका एक सय भन्दा धेरै देशले आफ्नो जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउन नसकेको डब्लुएचओको तथ्यांक छ ।
सन् २०२२ को मध्यसम्ममा विश्वका ७० प्रतिशत मानिसलाई खोप लगाउने नयाँ वर्षको प्रतिवद्धता जनाउन प्रमुख गेहब्रेयससले विश्व नेताहरुलाई आह्वान गरेका छन् ।
विश्वभरि दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन् । फ्रान्स र अमेरिकामा दैनिक संक्रमण दुई लाख नाघेको छ ।
अष्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितहरुको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।