माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकियो
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।
प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएसँगै निष्कर्ष प्रस्तुत गर्ने क्रम शुरु भएको हो । त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय गरिएको छ । प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको थियो ।
त्यसमध्ये अहिलेसम्म ११ वटा टोलीको प्रस्तुतिकरण सकिएको छ । अब बाँकी टोलीले बिहीबार निष्कर्ष प्रस्तुत गर्ने बताइएको छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो ।
उनीहरुको सुझावलाई समेत समेटेर अध्यक्ष दहालले पुनः दस्तावेजलाई पूर्णता दिनेछन् ।
दाहालको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।