जनमत पार्टीको आन्दोलनलाई लक्षित गर्दै सिरहामा निषेधाज्ञा जारी
काठमाडौं : सिरहामा जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार विहान पाँच बजदखि बुधबार साँझ सात बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षीण पाँच सय मिटर आसपासका क्षेत्रसम्म र चोहर्वा देखि सिरहा सडक खण्डका पिके राज इन्टरप्राईजेजसम्म निषेधाज्ञा लगाइएको हो ।
साथै सो मार्गको पाँच सय मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । सो क्षेत्रमा सो अवधिमा भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो ।
सो अवधिमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहने प्रशासनले जनाएको छ ।
आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ जनमत पार्टीको नेतृत्वमा किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको छ ।
प्रहरीले किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले सिरामा दुई दिनदेखि हिंसात्मक प्रदर्शन गर्दै आएको छ ।