प्रधानमन्त्रीले एमसीसीलाई सित्तैको भन्नु बाह्य शक्तिको नाङ्गो भक्ति : भीम रावल
काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना एमसीसीलाई सित्तैको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै रावलले एमसीसी सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देउवाले देखाएको आरोप लगाएका हुन् ।
उनले सम्झौतामा कतै पनि राष्ट्रघात नदेख्नु र सित्तैमा आएको पैसा किन नलिने भन्नुलाई बाह्य शक्तिको नांगो भक्ति भनेका छन् ।
‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति हो’, उनले भनेका छन्, ‘यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन ।’
उनले अगाडी भनेका छन्, ‘प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ । सम्झौतामा ‘कहीँ राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति हो ।’
नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनका क्रममा आइतबार बोल्दै प्रधानमन्त्री देउवाले आफूले एमसिसीमा राष्ट्रघात नदेखेको भन्दै सित्तैमा आएको पैसा छाड्न नहुने बताएका थिए ।
