रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी
काठमाडौं : विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।
उनले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने भन्दै विवेकशील साझाबाट अलग रहने घोषणा गरेकी हुन् ।
उनले पत्रमा लेखेकी छन्, ‘संघीय गणतान्त्रिक लोकतान्त्रिक देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भैरहेका सम्पूर्ण कदम, व्यवहारले आगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवं विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ ।’
आफ्ना लागि योभन्दा दुःख लाग्ने कुरा अन्य नरहेको रन्जुले भनेकी छन्, ‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु । तसर्थ सदाका लागि यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु । तपाईँ सबैको मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस ।’
