एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश पारित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बीच बुधबार पनि प्रतिनिधिसभाबाट बिभिन्न चार अध्यादेशहरु पारित भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठक शुरु भए लगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए ।
एमालेको विराधपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसदमा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए ।
उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटक पटक आग्रह गरे ।
तर एमालेका सांसदहरुले विरोध कायमै राखेपछि सभामुख सापकोटाले कार्यसूचीलाई अघि बढाएका थिए ।
प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ स्वीकृत भएको छ ।
त्यसैगरी, सामाजिक सुरक्षान पहिलो संशोधन अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ पनि बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते आइतबार बोलाइएको छ ।