२० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने, खोप अभियान पुस १३ गतेदेखि सञ्चालन हुने
काठमाडौं : सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने भएको हो ।
५७ जिल्लामा आइतबारदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा फाइजर खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुने भएको हो ।
त्यसपछि झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा खोप अभियान सञ्चालन हुनेछ ।
यसअघि फाइजर खोप लगाइएका आठ जिल्लामा दोस्रो मात्रा खोप माघ ४ देखि १३ गतेसम्म दिइने भएको छ ।
सरकारले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरेको थियो ।