कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि हुने
काठमाडौं : नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन मंगलबार दिउँसो हुने भएको छ । दिउँसो साढे ३ बजेदेखि मतदान शुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।
निर्वाचन समितिको मंगलबार बिहान बसेको बैठकले दिउँसो ३.३० देखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरेको हो ।
मतदानपछि मतगणना शुरु गरिने र नतिजा पनि मंगलबार नै सार्वजनिक हुने बताइएको छ ।
पहिलो चरणको चुनावमा कुनै पनि उमेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि मात्रै दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणमा धेरै मत ल्याउने दुई उमेदवारबीच मात्र प्रतिस्पर्धा हुनेछ । अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।