काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन तालिकाअनुसार शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ । तर, अझैसम्म कांग्रेसका देखिएका दुई समूहबीच उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि शनिबार नै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले आइतबार बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।
कांग्रेस विधानअनुसार १ सभापति , २ उपसभापति , २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्यीय कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता हुन लागेको हो । मतदान भने सोमबार बिहान ८ बजेदेखि शुरु हुनेछ ।