एक्लै हिँड्न खोज्नेहरुको ओरालो यात्रा शुरु भइसक्यो : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई लोकतान्त्रिक गन्तव्यबाट दायाँबायाँ नहुन सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवशेनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले साे सुझाव दिएका हुन् ।

उनले सहकार्य छाडेर एक्लै हिँड्न खोज्नेहरुको ओरालो यात्रा शुरु भइसकेको दाबी पनि गरे । कुनै समय एक अर्कासँग चर्को प्रतिस्पर्धा गरेपनि बेलामौकामा सहकार्य पनि गर्ने गरेको उनले बताए ।

उनले २०४६ सालको जनआन्दोलनदेखि पछिल्ला आन्दोलनमा समेत साझा सहकार्यकै कारण सफलता मिलेको स्मरण गरे ।

परिवर्तनलाई संस्थागत गर्न गहिरो एकता आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले एक्लै हिड्ने जस्तो अहंकार नगरी प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्नेमा जोड दिए । उनले भने “हामीले नेपालको राजनीतिक परिवर्तनका क्रममा एकता र सहकार्य प्रदर्शन गरेका छौँ र सफल भएका छौँ ।”

शान्ति प्रक्रियामामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कांग्रेससँग आफ्नो विशिष्ट प्रकारको सम्बन्ध रहेको बताए । 

शान्ति प्रक्रियालाई पूर्णतामा लैजाने, लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने क्रममा कुनै पनि राजनीतिक शक्ति विचलित हुनुहुँदैन भन्ने तर्क गर्दै अध्यक्ष दाहालले राष्ट्रियताको रक्षाका लागि पनि सहकार्य जरुरी रहेको उल्लेख गरे । 

Leave A Reply

Your email address will not be published.