प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिले तीन देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।
गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।