भारतमा एकैदिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं : भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अाठ जनामा ओमिक्रोन देखिएको हो ।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ ।
भारतमा दक्षिण कोरियाबाट आएका र उनहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।
यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टबारे लगातार चिन्ता व्यक्त गरिरहेका बेला नेपालको छिमेकी मुलुक भारतमा तीव्र गतिमा भाइरस फैलिन थालेको हो ।
गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणका हिसाबले यो नयाँ भेरियन्टले डेल्टा भेरियन्टलाई पछि पार्न सक्ने भन्दै चेतावनी जारी गरेको थियो ।
नेपालमा पनि यसको सम्भावित जोखिम रोक्न बेलैमा सचेतना अपनाउनुपर्नेमा विज्ञहरू जोड दिइरहेका छन् ।
अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।