संसदीय समितिको निर्देशन- ‘ओमिक्रोनबाट सुरक्षित रहन आवश्यक तयारी थाल्नू’
काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न संसदीय समितिले निर्देशन दिएको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ओमिक्रोनबाट बच्नका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको हो ।
सिंहदरवारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासमेत सहभागी भएका थिए ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई भनेको हो ।
समितिले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।