मुलुकको विकासका लागि एमालेले बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकको विकासका लागि एमालेले बहुमत ल्याउन जरुरी रहेको भन्दै कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए ।
अध्यक्ष ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।
उनले भारतद्वारा अतिक्रमित भूमि फिर्ता नभएसम्म नेपालीहरु हेपाइ र थिचोमिचोमा परिरहने बताए । लिम्पियाधुरालगायत कालापानी क्षेत्रको मिचिएको जमिन फिर्ताका लागि छलफल आवश्यक रहेको उनले उल्लेख गरे ।
उनले नेपाली जनता र नेपालको विकासका लागि संविधान संशोधन हुनसक्ने बताए । हिंसाको बाटोमा रहेका शक्ति र समूहहरुलाई आफू सरकारमा हुँदा शान्ति प्रक्रियामा ल्याएको उनले स्मरण गरे ।
नेपालमा लगानीको वातावरण बनेको बताउँदै अध्यक्ष ओलीले स्वदेशी र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।