काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिकामा देखिएको विवादमा गठबन्धनले छिट्टै निकास दिने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार नेपाल बार एशोसिएसनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले न्यायपालिकाको विवादमा सत्तारुढ दलका तर्फवाट निकास दिने आश्वासन दिएका हुन् ।
देउवाले छिट्टै सत्ता साझेदार दलको छलफल गरेर यसवारेमा औपचारिक धारणा सार्वजनिक गर्ने पनि बताएका छन् ।
भेटमा बार पदाधिकारीले वर्तमान प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणा रहदासम्म न्यायपालिकाको गतिरोध नहटने भन्दै आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । प्रधानन्यायाधीसले राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग बारको छ ।
बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलको पनि ध्यानाकर्षण गराइसकेको छ । प्रधानन्यायाधीसको राजीनामा माग गर्दै बार एक महिनादेखि आन्दोलनमा छन् ।
सरकारमा भाग खोजेको, न्याय सम्पादन राम्रोसँग नगरेको लगायतका कारण देखाउदै बारले प्रधानन्यायाधीस राणाको राजीनामा माग गरेको छ । राणाले भने सडकबाट माग हुँदैमा आफुले राजीनामा नदिने बताउदै आएका छन् ।