नेपाली कांग्रेसले आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार हुँदैछ ।
कांग्रेसको निर्धारित निर्वाचन कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो । कांग्रेसले १४ वटा जिल्लाको अधिवेशन यसअघि नै गरिसकेको छ ।
सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । क्षेत्रीय महाधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन् ।
महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन् । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।
प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ । कांग्रेसको महाधिवेशन भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।