काठमाडौं : सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आइतबार १५ वर्ष पूरा भएको छ । २०५२ फागुनदेखि जनयुद्ध गरिरहेको माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशमा जारी दशक लामो युद्ध अन्त्य भएको थियो ।
१० वटा विविध भागमा समेटिएको सो सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए ।
देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने संकल्प गर्दै शान्ति सम्झौता गरिएको सो सम्झौताको प्रस्तावनामा उल्लेख गरिएको छ ।
समयक्रममा केही सहमति कार्यान्वयन भए, केही भएनन् वा ढिला भए । अहिले पनि सशस्त्र द्वन्द्वको क्रममा सरकार वा माओवादीबाट पीडितहरुले न्याय पाउन सकेका छैनन् ।
सरकारले द्वन्द्वको घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय पीडकलाई दण्ड दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको छ । तर, दुवै आयोगको काम प्रभावकारी हुन नसकेको गुनासो निरन्तर आइरहेको छ ।