सत्ता गठबन्धनका दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै सक्दैनन् : ओली
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ घटकका केही दल कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् ।
नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा भएको कार्यक्रममा उनले कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म साथ दिने टुंगो नभएको बताए ।
अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी समेत गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकताका साथ अघि बढने दृढता व्यक्त गरे ।
उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्याए ।
कार्यक्रममा अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए । उनले चाडपर्व पिच्छे फरकफरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको पनि बताए ।