नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज हुँदै
काठमाडौं : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन शुक्रबार हुँदैछ । १४ औं महाधिवेशनका क्रममा कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।
प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।
सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्नेछन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्योभन्दा केही तल–माथि हुनेछ ।
प्रदेश सभा अधिवेशनले कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
त्यस्तै महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित हुनेछन ।
प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । तीन सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि मंसिर छ गते एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।