कोरोनाविरुद्धको खोप लगाउन अब पालो कुर्नु पदैन : मन्त्री खतिवडा
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा उनले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए ।
उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।
मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए ।
मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताए । उनले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनीहरुले अस्पतालमा खोप लगाएको अवस्थाको अनुगमन समेत गरेका थिए ।