सर्वाेच्च अदालतमा वकिल र प्रहरीबीच झडप, १२ जना घाइते
काठमाडौं : सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा १२ जना कानुनी व्यवसायी घाइते भएका छन् ।
प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका हुन् ।
सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिएको छ ।
प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत घाइते भएका छन् ।
उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको बताइएको छ ।
शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
यसैबीच सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको बताए ।