ई-पासपोर्टको शुरुवात, पहिलो पासपोर्ट शताब्दी पुरुष जोशीलाई
काठमाडौं : सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट)को शुरुवात गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो राहादानी प्रदान गर्दै ई पासपोर्टको शुरुवात गरिएको हो ।
बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरे ।
सरकारले मेसिन रिडेबल पासपोर्ट एमआरपीलाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागले जनाएको छ ।
केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गरिने छ । ई पासपोर्ट वितरण शुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने विभागको भनाइ छ ।
ई पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।