एमालेको महाधिवेशनका लागि अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन
काठमाडौं : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि छनोट भएका छन् । धेरैजसो जिल्लामा र विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमालेले जनाएको छ ।
गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्युठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाल्चोक, पेसागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि छानिएका छन् ।
यस्तै गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएशन नेपाल, उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमा समेत प्रतिनिधि चयन भएका छन् ।
एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले प्रतिनिधिको विवरण पर्सि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।
एमालेले महाधिवेशनका लागि एक हजार नौ सय ९९ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।
महाधिवेशनबाट एमालेले नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुनेछन् ।