सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जनकपुरमा निषेधाज्ञा जारी
जनकपुर : जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरेको हो ।
सामाजिक सद्भाव खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेकाले निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जनाएका छन् । शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रजिअ बास्तोलाले जानकारी दिए ।
निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले काबाही गर्ने चेतावनी दिइएको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।
शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका–२० स्थित रुपैठामा धर्मको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो । झडपमा परी सुरक्षाकर्मीसहित केही घाइते भएका छन् ।